देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

देशान्तर

विराटनगर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्।

प्रेस संगठन नेपाल प्रदेश समितिद्वारा आइतवार मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ।’

आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने बताए।

‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘गठबन्धनका पार्टीहरुबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ।’

नेपाली कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठनबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भनेकाले यसलाई गठबन्धनले सकारात्मक रुपमा लिएको बताए। एमाले नेतृत्वसँग संसद् अवरुद्ध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रुपमा संसद् अवरुद्धबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिए।

मोरङको रङ्गेली नगरपालिका प्रमुखले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जानेक्रम चलिरहने र त्यो उहाँहरुको व्यक्तिगत स्वार्थका कारणले भएको बताए।