देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल र यूएईबीच संयुक्त समितिको बैठक बस्दै

देशान्तर

काठमाण्डौ । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधाबीमा बस्दैछ ।

नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।

बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुनेछ ।

साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार यूएईको राजधानी आबुधाबी पुगेको हो । श्रममन्त्री श्रेष्ठ र यूएईका समकक्षी डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच आजै भेटवार्ता पनि हुँदैछ ।