काठमाडौँ – सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२र३३ केभी सबस्टेशनको उद्घाटन भएको छ । सर्लाहीको बिजुली आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आउँदा दिनमा खुल्ने नयाँ उद्योगहरूलाई बिजुली उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशनको आज मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी बिजुली खपत बढाउन आग्रह गरिन ।
तराई तथा मधेस क्षेत्रमा सिँचाइमा बिजुली खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्न आग्रह गरिन । ‘अहिले हामी वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, बिजुलीको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, खेत बाँझो नराखौँ’, उनले भन्नुभयो, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र देशभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ ।’
उनले सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो बिजुली आपूर्ति भइ औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन ।
कार्यक्रममा सर्लाहीका सङ्घीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय बिजुली पाउन थालेको बताईन् । उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरिन ।
ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताईन् । सरकारले महसुल घटाएकाले बिजुली चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरिन।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेस प्रदेशको बिजुली आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, उद्योग, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताईन् । विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाए । मधेस प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले त्यसको नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले नवलपुर सबस्टेशन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको उल्लेख गर्दै सबस्टेशन आम उपभोक्ताका लागि वरदान भएको टिप्पणी गरे ।
सबस्टेशनमा बिजुली आपूर्ति सुरु भएपछि सर्लाहीको बिजुली आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेशनबाट ३३ केभी लाइनमार्फत बिजुली आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने बिजुली आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो । नवलपुर सबस्टेशनबाट सिधै बिजुली आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, बिजुली आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त बिजुली दिन सकिने छ ।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेशनमा बिजुली आपूर्ति दिइएको छ । सबस्टेशनमा १३२र३३ केभी, ६३ एमभीए र ३३र११ केभी, १६ एमभीए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेशनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३र११ केभी वितरण गरी सबस्टेशनहरूमा बिजुली आपूर्ति दिइएको छ ।
सबस्टेशनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेशन निर्माणको ठेक्का पावर टेक भारत र वाइबा इन्फ्राटेक नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।
कार्यक्रममा सबस्टेशन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।





प्रतिक्रिया