देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होलीलाई व्यवस्थित बनाउन ६८ वटा चेकप्वाइन्टमा ३५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइदैँ

देशान्तर

काठमाण्डौ । फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी थालिएको छ । काठमाण्डौ उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने उनले बताए । उनकाअनुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ ।

सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित जाँच गर्ने छन् । हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लामा पर्सि होली मनाइँदै छ ।