देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन सक्दैन : सत्यमोहन जोशी

देशान्तर

ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन नसक्ने बताएका छन् । आज शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक सत्यमोहन को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचमा एकता ल्याउने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरेका छन् ।

संस्कृतिविद् जोशीले भने, ‘लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई विचारै नगरिकन अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । अहिले राजनीतिमा कति झगडा भइरहेको छ भन्ने त यहाँहरू सबैलाई थाहा छँदैछ । यदि समावेशी भएको भए एकले अर्कोलाई नेपाली हो, चाहे नेवार होस्, चाहे थारु होस्, चाहे धिमाल होस्, चाहे राई, लिम्बु जे होस्, हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने त लोक संस्कृतिले गर्ने हो नि त ।’

पत्रकार गिरीश गिरीले लेख्नुभएको जोशीको जीवनीमा आधारित पुस्तक सत्यमोहन को आज एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण भएको हो । यो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए । यो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्‍याउने पनि उनले बताए ।

पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले देशका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाण्डौभित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रूपमा बुझ्न नहुने भन्दै उहाँले जोशीले सिङ्गो देशको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे ।