देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्राधिकरणको बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाही गरीने

देशान्तर

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ । अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ ।

ती कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

आइतबार एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ ।