देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पल शाहको हिरासत बसाइ लम्बियो, नवलपुरमा तत्काल थुनछेक बहस नहुने

देशान्तर

काठमाडौँ – नवलपरासी पूर्वी जिल्ला अदालतमा मुद्दा दर्ता भइसके पनि पलविरुद्ध त्यहाँ तत्काल थुनछेक बहस नहुने भएको हो ।

गत बिहीवार उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिगका आफन्तले बलात्कारको अभियोगमा जाहेरी दिएकाले तनहुँ अदालतमा थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो ।

जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ ।

‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं । त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ,’ अदालत स्रोतले भन्यो ।

यसअघि बयानका लागि नवलपुर लगिएको थियो । एकसाता गैंडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको थियो ।

गैंडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैंडाकोटमा पीडित पक्षका आफन्तले किटानी जाहेरी दिएका थिए ।

एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत केही दिनभित्रैमा मुद्दा दर्ता गर्ने तयारी भएको जनाएको छ । अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । गत फागुन १५ गते पल आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए । हिरासतमा भएको आइतवार २१ दिन पुगेको छ ।

पछिल्लो पटक गत शुक्रवार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप भएको थियो ।

जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रूपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।