देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै

देशान्तर

काठमाडौँ – आज ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातीय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।

जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२ र ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायको स्थापना भए पनि वास्तविक पीडितले अझै न्याय पाउन नसकिरहेका अधिकारकर्मीहरु बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका स्थायी कमिटी सदस्य प्रमुख अनुभूति बम छुवाछुतको मुद्दामा दलित समुदायले खुलेर प्रतिवाद गर्न नसकेको बताउछन्। दलित समुदायमाथि थिचोमिचोका घटना भइहाले त्यसविरुद्ध कानुनी उपचार खोज्दा रोेक्न सक्दो प्रयास हुने गरेको छ । यस्तो प्रवृत्तिका कारण कतिपयले ज्यानै गुमाउनु परेको छ भने कतिपयले थातथलो छाडेरै हिँडनु परेको छ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सबै अधिकारकर्मी, योद्धा तथा अग्रजप्रति सम्मान व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिँदै उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको र कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन्।