देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिजुलीको माग व्यवस्थापनबारे प्राधिकरण उद्योगीसँग छलफलमा

देशान्तर

काठमाडौं– रुस– युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ । भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् । यसले गर्दा यो सुक्खायामको प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।

मागअनुसार बिजुली दिन सकस हुने भएपछि उद्योगहरुमा लोड व्यवस्थापनका लागि प्राधिकरणले उद्योगी व्यवसायीसँग सहयोग माग्न लागेको हो । बिहीबार विहान प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उत्पादक संघ, स्टिल उद्योग संघ लगायतसँग छलफल गर्दैछ ।

उद्योगको माग पूर्ति गर्न हुने विद्युत् आयात प्रभावित भएपछि तालिका बनाएर उद्योग चलाएमा संकट टार्न सकिने प्राधिकरणको विश्वास छ । करिब एक महिनापछि नदीमा पानीको सतह बढेर नेपालकै उत्यादनले माग धान्न सकिने भएकाले केही हप्तासम्म व्यवस्थापनका लागि प्राधिकररणले उद्योगीसँग सहयोग माग्ने भएको छ ।
बुधबार बोलकबोलमा विद्युत् खरिद(बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५।२७ पैसा भारु पुगेको थियो । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ ।

भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जबकी विद्युत प्राधिकरणले नेपालका उद्योग कलकारखानालाई प्रतियुनिट औसत ८.५० रुपैयाँमा बिजुली बेचिरहेको छ भने रातिको समयमा ४।५० रुपैयाँ प्रतियुनिटमै उद्योगले बिजुली पाइरहेका छन् ।

बिहीबारका लागि प्राधिकरणले ९६ वटा ब्लकमा गरेको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पारेको छ । बुधबारका लागि औसत भारु १२ मा विद्युत खरिदविक्री भएकाले प्राधिकरणले बिहीबारका लागि सोही मल्यमा ‘कोट’ गरेको थियो ।

तर, अधिकांश ब्लकमा त्यो भन्दा बढी मूल्य कोट गरेर भारतीय उद्योगहरुले बिजुली किनेका छन् । यसले गर्दा नेपाल बिहीबार पनि उद्योगहरुमा बिजुली कटौती गर्नुपर्ने अवस्था आउने भएको छ । सुक्खायाम लागेकाले अहिले औसत १२ सय मेगावाट प्रतिघण्टाका दरले भारतबाट विद्युत् आयात गनुपर्ने अवस्था छ ।