देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सङ्कटमा दुर्लभ पक्षी चिरकालिज

देशान्तर

पर्वत – दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ।

केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ। अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो। चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन।

यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए।

यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ। ठूला–ठूला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताए।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरु बताउँछन्। चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ।

पर्वतमा यो कालीगण्डकी नदि, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइएको वन अधिकृत सापकोटाले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत भए पनि यस क्षेत्रमा यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालयका सहायक प्रमुख केशव पुडासैनीले बताए।

समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, बासस्थानको संरक्षण तथा वासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने पुडासैनीले बताए। उनले पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण हुनुपर्नेमा जोड दिए।

पछिल्लो समय गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको वन विभागले रैथाने वनस्पति तथा चराचुरुङ्गी एवं कालिज प्रजातिको खोज, अनुसन्धान र संरक्षणका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ।