देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आठ महिनामा १५२ वन्यजन्तु मृत्यू

देशान्तर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।

यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन् । यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक(एक वटा मरेका छन् ।

तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन् । अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो । वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्ज वन तथा वन्यजन्तुका लागि प्रख्यात छ । यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाइन्छन् ।