देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर घटाउन आयल निगमको माग

देशान्तर

काठमाडौं । आयात घाटा थेग्न गाह्रो भएपछि नेपाल आयल निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन सरकारसँग माग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंगलबार १० बुँदै प्रस्ताव पठाउँदै शनिबार र आइतबार सार्वजनिक विदाको प्रस्ताव पनि अघि सारेको छ । बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमको भनाइ छ ।

त्यस्तै अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।

इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलरमाथि कारोबार भइरहेको छ । जसले गर्दा निगमको घाटा चुलिँदै गएको छ ।

पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।