देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिकोणात्मक टी–२०

दीपेन्द्रका लागि स्मरणयोग्य रह्यो त्रिकोणात्मक टी–२० सिरिज

ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने

देशान्तर

काठमाडौँ – नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीका लागि मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टी–२० सिरिज स्मरणयोग्य रह्यो। ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने।

यसै सिरिजमा टी–२० अन्तरराष्ट्रियमा पारस खड्काको कीर्तिमान भङ्ग गर्दै उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। साथै टी–२० अन्तरराष्ट्रियमा १ हजार रन बनाउने पहिलो खेलाडी पनि बने। उनले ३९ खेलमा १ हजार ३३ रन बनाएका छन्। जसमा १ शतक र ५ अर्धशतक सम्मिलित छन्।

ऐरीले उक्त सिरिजमा बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गरे। ऐरी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी त हुन् नै साथै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा पनि उनी चौथो नम्बरमा रहे। ५ खेलमा १ शतक र २ अर्धशतकसहित उनले २ सय ५५ रन बनाए भने ७ विकेट पनि लिन सफल भए।

ऐरीले मलेसियाविरुद्ध लिग चरणको खेलमा अविजित १ सय १० रन बनाए जुन उनको टी–२० अन्तरराष्ट्रियमा पहिलो शतक हो भने नेपालका लागि चौथो शतक हो। यो सँगै उनी टी–२० अन्तरराष्ट्रिय खेलमा शतक प्रहार गर्ने विश्वका ७६ औँ खेलाडी बनेका छन्। टी–२० अन्तरराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी ७५ औँ नम्बरमा उक्लिएका छन्।

टी–२० सिरिजअघि पिएनजीसँग भएको एकदिवसीय शृंखलामा पनि ऐरीले एउटा शतक बनाएका थिए। टी–२० र एकदिवसीय खेलमा शतक बनाउने ऐरी दोस्रो नेपाली खेलाडी हुन्। यसअघि पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक बनाएका थिए। पारसले टी–२० का ३३ खेलमा ७ सय ९९ रन बनाएका थिए। पारसले टी–२० मा १ शतक र ४ अर्धशतक प्रहार गरेका थिए।

ब्याटिङतर्फ ऐरीले १ हजार रन पूरा गर्दा अर्का ब्याट्सम्यान कुशल भुर्तेलले ५ सय रन पूरा गरे। योसँगै उनी सबैभन्दा थोरै खेलमा ५ सय रन पूरा गर्ने खेलाडी पनि बनेका छन्। उनले १२ खेलमा आफ्नो ५ सय रन पूरा गरेका हुन्।

त्यस्तै यसै सिरिजमा बलिङतर्फ नेपालका २ खेलाडीले टी–२० अन्तरराष्ट्रियमा ५० विकेट पूरा गरे। कप्तान सन्दीप लामिछानेले २९ खेलमा आफ्नो ५० विकेट पूरा गरेका हुन्। टी–२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीको सूचीमा सन्दीप तेस्रो नम्बरमा छन्। त्यस्तै ३६ खेलमा ५० विकेट पूरा गरेका करण केसी उक्त सूचीको १३ औँ नम्बरमा छन्।

पछिल्लो सिरिजबाट आइसिसीको टी–२० अन्तरराष्ट्रिय वरीयतामा नेपाली खेलाडीको स्थान सुधार हुने देखिन्छ। मार्च पहिलो साताको वरीयताअनुसार नेपालका कुशल भूर्तेल ब्याटिङतर्फ २९ औँ र दीपेन्द्रसिंह ऐरी ५१ औँ स्थानमा रहेका छन् भने बलिङतर्फ सन्दीप ३७ औँ र अभिनास बोहरा ८१ औँ स्थानमा रहेका छन् ।