देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३ दिने भ्रमणका लागि बिहीवार नेपाल आउने : डब्ल्यूएचओ

देशान्तर

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि बिहीवार नेपाल आउनुहुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ भोलि दिउँसो सवा १२ बजे नेपाल आउनुहुनेछ । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ ।

त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ । यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालमा रहेका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।

महानिर्देशक तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम रहेको छ ।