देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावी गठबन्धनबारे पार्टीको निर्णय सबैले मान्नुपर्छ : गगन थापा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धनबारे पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए ।

नेपाली कांग्रेसको सम्पर्क समन्वय समितिले आज बुधवार काठमाण्डौमा गरेको कार्यक्रममा महामन्त्री थापाले गठबन्धनका दलहरूबीच चुनावी तालमेलका विषयमा पार्टीभित्र केही बहस र विवाद रहे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए ।

‘यो पटक विशेष अवस्था बनेको छ । केही समयअघि कांग्रेसले गठबन्धन गरेर सरकार बनायो, गठबन्धनमा रहेका दलको बीचमा कैयौँ ठाउँमा चुनावी तालमेल भएका छन् । यो ठिक हो कि होइन भनेर पार्टीभित्र मतभिन्नता र सङ्घर्ष भएका छन्, यो पछिसम्म पनि रहन्छ । तर हामी सबैले दलको निर्णय मान्नुपर्छ’, उनले भने।

महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन गरे पनि अरू पालिकामा स्थानीय सङ्गठनले नै निर्णय गरेकाले पार्टीको निर्णय मान्न थापाले निर्देशन दिए ।

‘कांग्रेस एक्लै चुनावमा जाँदा त कैयौँ योग्य साथीहरू उम्मेदवारीबाट वञ्चित हुनुभएको छ, त्यो माथि अहिले तालमेल हुँदा धेरै योग्य साथीहरू छुट्नुभएको छ, विरोधको भाव आउनु स्वाभाविक हो तर पार्टीको निर्णय त सबैले मान्नुपर्छ’, उनले भने ।

महामन्त्री थापाले अहिले आवेशमा आएर पार्टीलाई नटेर्नेहरूलाई पछि अप्ठेरो पर्ने चेतावनी पनि दिए । पार्टीभित्र भएको विभेदको एक–एक हिसाब हुन्छ तर अहिले चुनाव जित्ने गरी अभियानमा लाग्नुपर्छ, पार्टीको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिँदै गर्दा राम्रो हुँदैन, अहिले आवेशमा आएर पार्टीको निर्णय नमानेर बाहिर जाने साथीहरूलाई पछि पार्टीमा फर्किएर काम गर्न गाह्रो छ, बेलैमा साथीहरूले सोच्नुहोला’, थापाले भने ।