बुटवल । बुटवल उपमहानगरपालिकामा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन् । बुटवल उपमहानगरपालिका–११ टपमजुवामा सिर्जना भुसालको घरमा उपमहानगर प्रमुखमा एमाले उम्मेद्वार भट्टराईकी श्रीमति मायादेवीलाई फेला पारेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
‘प्रहरीले मायादेबीलाई बुटवल–११ टपमझुवामा सृजना भुसालको घरमा फेला पारेको हो,’ उपरीक्षक रेग्मीले भन्नुभयो, ‘उहाँले आफन्तको घरमा आएको बताउनु भएको छ । तर, अन्य पार्टीका नेता कार्यकर्ताले मौन अवधिमा मतदाता प्रभावित पार्न आएको बताइरहनु भएको छ । प्रहरीले खानतलासी गर्दैछ ।’
मायादेवी भेटिएको सुकुम्बासी बस्तीको टहरामा हो । सुकुम्बासी बस्तीमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप कांग्रेसले लगाएको छ । ‘सुकुम्बासी बस्तीका टहरामा के आफन्त मतदाता प्रभावित पार्न गएकी हुन्,’ कांग्रेसका एक नेताले भने ।
अहिले टपमझुवामा कांग्रेस र एमाले कार्यकर्ता जम्मा भएकाले केही असहजता भइरहेको प्रहरीले बताएको छ ।
अहिले प्रहरीले खानतलासी गरिरहेको र यो अनुसन्धान सकिएपछिमात्रै उम्मेद्वारकी श्रीमति किन आउनु भएको हो भन्न सकिने उपरीक्षक रेग्मीले बताउनुभयो ।





प्रतिक्रिया