देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावी समीक्षा परिणाम राम्रो आएन : माधव नेपाल

देशान्तर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरे ।

‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ उनको भनाइ छ, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’

नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताएका छन् । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’

परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने उनको भनाइ छ । ‘तर, जे सुकै भए पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्ने छ । यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ,’ उनले भने ।