देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजगढमा विमानस्थल निर्माण गर्न सर्वोच्चको रोकपछि कांग्रेस नेता गुरुङका तीन विकल्प

देशान्तर

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् ।

उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये कुनै न कुनैमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ पनि निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्।

पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्‍गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन् ।

त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ ।

दोस्रो विकल्पको रूपमा जिल्लाकै बर्दिबास नगरपालिका– ३, ४, ५, १० र ११ मा पर्ने केही जङ्‍गल क्षेत्र र केही खाली जग्गाजमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्‍गाहा नगरपालिका– १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायमा स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन् ।

यसका लागि सबै मिलेर गम्भीरतापुर्वक पहल गर्न उनको आग्रह छ ।  बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएको हो ।