देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तारा एयर दुर्घटना

थप १० जनाको शव कोवाङमा, काठमाडाैं ल्याउने तयारी

देशान्तर

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा मृत्यु भएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।

मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिनुभयो ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ ल्याएको थियो । उहाँले आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारी भइरहेको बताउनुभयो ।

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो ।

करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताउनुभयो ।

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो ।

उनीले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।