देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मानेर चुनावको मिति सिफारिस गर्ने आयोगको तयारी

देशान्तर

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो परिणाम आएर निर्वाचित सदस्यले प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला आयोगले सरकारलाई आउँदो मंसिर अगावै गर्ने गरी संघ र प्रदेशको चुनावको मिति तोक्न सिफारिस गर्ने भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था भए पनि त्यसको गणना कसरी गर्ने भन्ने अन्योलता रहेको अवस्थामा आयोगले पहिलो चुनावी परिणाम आएको मितिलाई आधार मानेर अर्को चुनावको मिति सिफारिस गर्ने भएको हो ।

प्रतिनिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति तोक्ने व्यवस्था छ ।

संविधानको धारा ८५ (५) ले संसदको कार्यकाल अगावै विघटन भएको अवस्थामा बाहेक पाँच वर्षको हुने व्यवस्था गरेको छ । यसअघि आयोगले सिफारिस गरेकै मिति वैशाख ३० मा स्थानीय तहको चुनाव भएको थियो ।