सत्तागठबन्धनको सहयोगमा स्थानीय तह निर्वाचनमा सन्तोषजनक परिणाम निकालेको माओवादी केन्द्रले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफ्नो बलियो स्थानका लागि अहिलेदेखि नै सत्ता गठबन्धनमा रहेका दलहरू माथि दबाब र बार्गेनिङ सुरु गरेको छ। गठबन्धनको बैठकमा आगामी कात्तिक वा मंसिरभित्र संघीय संसद्को निर्वाचन गर्ने छलफल चलिरहँदा दाहालले कांग्रेससँग बढीभन्दा बढी सिट लिनका लागि बार्गेनिङ स्वरूप धम्क्याउन थालेका हुन् ।
आउँदो संघीय संसद्को निर्वाचनमा कांग्रेसको साथ लिएर एमालेभन्दा ठूलो पार्टी बन्ने लक्ष्य लिएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेजस्तै अहंकार र दम्भ चुलिएको बताउँदै एमालेजस्तै अहङ्कार देखाए कांग्रेसको पनि अवस्था एमालेको जस्तै हुने दाबी गरेका छन् ।
बृहत् शान्ति सम्झौतायताको नेपाली राजनीतिमा मुख्य खेलाडीकारूपमा रहेका दाहाल सरकार गठन गर्ने भत्काउने भूमिकामा सधैं देखिएका छन् । आगामी निर्वाचनबाट पनि दाहाल आफूलाई त्यही ठाउँमा कायम राख्ने पक्षमा छन् । कमजोर धरालत उभिएको उनको पार्टीलाई गठबन्धन ‘फलिफाप’ हुँदा बार्गेनिङ पावर विगतभन्दा ह्वात्तै बढेको छ ।
दाहालले अहिले पनि यसैको छनक देखाउन सुरु गरिसकेका छन् । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा उनले सत्ता गठबन्धनको नेतृत्व गरिरहेको सहयात्री कांग्रेसलाई सचेत गराएका छन् ।
स्थानीय तहको निर्वाचन परिणामकै आधारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको पक्षमा कांग्रेस देखिएपछि दाहालले कांग्रेस माथि थप दबाब बढाउन लागिपरेका हुन् । २०७४ सालको संघीय निर्वाचन अघि पनि माओवादी अध्यक्ष दाहालले यसैगरी कांग्रेसलाई धम्क्याएर कुरा नमिलेपछि एमालेसँग गठबन्धन गर्न पुगेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि माओवादीका दुई प्रभावशाली नेताहरू जनार्दन शर्मा र वर्षमान पुनले एमाले र कांग्रेससँग छुट्टाछुट्टै कुराकानी गर्दा एमालेले कांग्रेसको भन्दा बढी सिट दिएपछि एमालेसँग सहकार्य भएको थियो ।
त्यतिबेला एमाले र माओवादीले संयुक्त चुनावी घोषणापत्र बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यतिबेला चुनावी गठबन्धन मात्रै नभएर पार्टी एकतासम्म भएको थियो । २०७४ सालको स्मरण गर्ने हो भने कांग्रेसले ३० प्रतिशतभन्दा बढी सिट नदिएपछि एमालेले ४० प्रतिशत सिट दिएर गठबन्धन गरेको थियो । अहिले पनि सत्ता गठबन्धनको बैठकमा कांग्रेसका नेता कार्यकर्ताहरूले असहयोग गरेको भन्ने गुनासो माओवादी र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले गर्दै आएका छन् । माओवादीका नेताहरूले कांग्रेसलाई सत्तामा पु¥याउन आफूहरूको सहयोग रहेको तर कांग्रेसले असहयोग गर्दै आएको बताउँदै आएका छन् ।





प्रतिक्रिया