काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताए । उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो की होइन भन्नेमा अन्योलता रहेको पनि बताए ।
मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको बताए । उनले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे ३ खर्ब खर्च हुने बताए ।
बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्याधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताए । मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा ४ वटा स्याटलाइट सिटी बन्ने भने पनि बन्न नसकेको बताए ।
मन्त्री झाँक्रीले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गरे । त्यसको लागि उत्तरपूर्वी इसान शहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको मन्त्री झाँक्रीले बताए ।
मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानून चालु आर्थिक वर्षमा संसदमा ल्याउने तयारी रहेको बताए। उनले यो कानून बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताए । सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्नेकुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गरे ।
मन्त्री झाँक्रीले नगरविकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगरविकासको काम गर्ने ऐन ल्याउन लागेको बताए। उनले उक्त कानून मन्त्रिपरिषद्बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताए ।
मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरूपता ल्याउन नीतिगत व्यवस्था गरिन लागेको पनि बताए। उनले देशभर करिव ३२ वटा सभाहल निर्माण सम्पन्न हुने क्रममा रहेको र ती सभाहल सञ्चालनमा अन्योलता भएको बताए । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गरे।





प्रतिक्रिया