देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ : मेयर दाहाल

देशान्तर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताए । उनले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरे ।

‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उनले भने, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधैँ सकारात्मक छ ।’ चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाइन्स चोकमा बहुउद्देश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरू भइरहेका छन् ।

मेयर दाहालले चुनावको घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिकसम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताए ।

त्यस्तै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताए।

नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले युवा उद्यमीलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राखे ।