देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छः अध्यक्ष प्रचण्ड

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व–माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिंएको बताए ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको काठमाडौंमा आयोजित बैठकलाई आज (आइतबार) सम्बोधन गर्दै उनले यस्तो बताए । उनले पूर्वमाओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिंएको बताए । अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने उनले दावी गरे । उनले कर्मचारीहरुभित्र पनि विस्तारै एकीकृत हुने अवस्था बन्ने बताए ।

उनले भने, ‘हामी केही समयदेखि एकता र विभाजनको जे श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिव करिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुंगोमा पुग्दैछ । त्यसको असर विभिन्न जनसंगठनहरुमा पनि पर्नु स्वभाविक हो पर्छ । मलाई लाग्छ कर्मचारीभित्र पनि बिस्तारै बाँकी रहेका साथीहरु एकीकृत हुने अवस्था बन्छ ।’

उनले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताए । उनले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुले संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताए। उनले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारी हरुबाट नै व्यवधान भइरहेको जिकिर गरे ।

उनले भने, ‘कर्मचारी भित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीय लोकताीन्त्रक गणतन्त्र उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि छ । कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरु यो संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने र प्रकारान्तरले अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रलाई, संघीयतालाई कमजोर पार्ने, उल्ट्याउन खोज्ने प्रवृत्ति अहिले पनि कायम नै छ ।

अहिले संघीय निजामति ऐन बनाउने कुरामा समस्या सदनको समितिबाट पारित गरेर गएको छ, लामो समयसम्म प्रधानमन्त्रीको अफिसमा रहिराखेको अवस्था छ। त्यसलाई अघि बढाउने सन्दर्भमा मुख्यतः कर्मचारीतन्त्रबाट कर्मचारीतन्त्रको हाईयर लेभलका अफिसरबाट नै केही न केही व्यवधान भइरहेको अवस्था छ । यो ऐन अघि बढाउन तपाईहरुले पनि विभिन्न रुपमा पहल गर्न र स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्तिविकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा आफ्नो ठाउँबाट आवाज उठाउनु होला ।’

उनले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको विषयमा कुरा राख्ने प्रतिवद्धता जनाए । स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनु पर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोड दिए ।