काठमाडौं । नेकपा एमालेबाट अलग भएर केही महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विषय पेचिलो बन्दा पार्टी नै विघटनको अवस्थामा पुगेको छ । माधवकुमार नेपाल नेतृत्वको सो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरू पार्टी निर्णयअनुसार फिर्ता हुन तयार नभएपछि उक्त पार्टी आन्तरिक झमेलामा फसेको छ । अध्यक्ष नेपाल मन्त्रीहरूलाई फिर्ता लगाउनुपर्ने र बोलाउन नहुने दुवै समूहको दबाबमा परेका छन् ।
माकुराको जालोमा जस्तो आन्तरिक विवादमा जेलिएको एकीकृत समाजवादीका अध्यक्ष नेपालको हालत पनि माउ माकुराको जस्तो बन्न पुगेको छ । आफैंले जन्माएको बच्चाले माउ माकुरालाई खाए जस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल सरकारबाट फिर्ता आउने र सरकारमा जानका लागि तयार भएका पार्टीका नेताका कारण त्यस्तै अवस्थामा पुगेका छन् ।
सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको छ । तर, उनीहरू पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै फिर्ता नहुने अडान राखेका छन् । उनीहरूले आफूसहित १० सांसदको हस्ताक्षेर अध्यक्ष नेपाललाई भेटेर निर्णय सच्याउन ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । २३ सांसद रहेको एकीकृत समाजवादीमा सरकारमा अहिले रहेका मन्त्रीहरू हावी देखिएका छन् । अध्यक्ष नेपाल, नेता झलनाथ खनालसहितका नेताहरू करिबकरिब अल्पमतमा परेका छन् । दलीय व्यवस्था पार्टी निर्णय नै सर्वोपरी हुने भए पनि मन्त्रिपरिषद् हेरफेर गर्ने नगर्ने निर्णय अधिकार प्रधानमन्त्रीमा हुन्छ । अबको केही दिनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छैनन् ।
अहिले मन्त्रिपरिषद् हेरफेर गर्दा आफ्नो पार्टीमा पनि त्यसको प्रभाव पर्ने उनको बुझाइ छ भने प्रमुख प्रतिपक्षीले सरकारले काम गर्न नसकेर मन्त्री हेरफेर गरेको आरोप लाग्ने विश्लेषणमा छन् । त्यसका साथै सत्ता गठबन्धनका दलभित्र देखिएको आन्तरिक विवादले सरकार नै अप्ठेरोमा पर्ने देउवाको विश्लेषण छ । जसले गर्दा देउवा पनि एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री परिवर्तनको पक्षमा देखिएका छैन ।
त्यसले पनि नेपालसहित समाजवादी पार्टी अप्ठेरोमा परेको छ । शुक्रबार सम्पन्न पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले आफ्नै साथीहरूको असहयोग र पार्टी बाहिर रहेका केही साथीहरू र गठबन्धनका सहयात्री दलहरूको असहयोगका कारण मन्त्री हेरफेर हुन नसकेको बताएका थिए । ‘विद्रोहबाट आएका कारण सबै साथीहरूको मर्ममा ठेस पुग्नु हुन्न भन्ने पार्टीको चाहना रहेको छ, तर सरकारमा रहेका केही साथीहरूले आन्तरिक र बाह्य शक्तिलाई बढी नै दुरुपयोग गरेको गुनासो नेपालले पार्टी बैठकमा गरेका थिए । पार्टीभित्रको विवादमा माओवादी केन्द्रले खेलेको नेपाल निकटहरूको बुझाइ छ ।
मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरादेवी जैरु नेपालमाथि प्रश्न उठाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने दाबी गरेका छन् । आफूहरूलाई बजेट पारित हुने बेलासम्म समय दिन माग गरेका उनीहरूले नयाँ मन्त्रीहरूको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तका आधारमा पठाउन पनि भनेका छन् । तर, नेपालसहितका नेताहरूले पुरानो टिम फिर्ता हुने र छिट्टै नयाँ टिम सरकारमा सहभागी हुने बताउँदै आएका छन् । उक्त पार्टीको जेठ तेस्रो साता बसेको सचिवालयले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो । त्यससँगै झागिँदै गएको एकीकृत समाजवादीभित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । शनिबार पार्टी केन्द्रीय कमिटीको बैठक बसेको छ ।
आन्तरिक विवाद बढ्दै जाँदा पार्टी विभाजन वा विघटनमा पुग्ने त होइन भन्ने आशंका एकीकृत समाजवादीभित्रै उत्पन्न भएको छ । केही महिना अघिमात्र गठन भएको पार्टी विभाजन भएर अर्को गठन गर्न कानुनत कठिन देखिन्छ । तर, विवाद बढ्दै जाँदा एकीकृत समाजवादीका केही नेता एमालेमा फिर्ता हुने केही माओवादी पस्ने र कोही कांग्रेस छिर्ने अवस्था आउँदा नेपाल नेतृत्वको पार्टी फेरि संकटमा फस्ने र उनको सक्रिय राजनीति नै बेहाल हुने विश्लेषण गर्न थालिएको छ ।





प्रतिक्रिया