देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रविका ‘रहर’

देशान्तर

काठमाडौं । कुनै एउटा पेसा व्यवसायमा दाम र नाम कमाउँदैमा अर्को क्षेत्रमा पनि त्यस्तै हुन्छ भन्ने होइन । तर, स्थानीय तह निर्वाचन काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएसँगै विभिन्न पेसा र व्यवसायमा रहेका व्यक्तिहरू राजनीतिक दल र तिनको हुर्मत लिँदै नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवार घोषणा गर्ने लहर सुरु भएको छ । त्यही क्रममा टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।

घण्टी चुनाव चिह्नसहित आगामी निर्वाचनमा सहभागी हुने दाबी गरेका रविले कांग्रेस, एमालेसहितका दलहरूलाई टक्कर दिने दाबी गरेका छन् । तर, टेलिभिजनको पर्दामा अर्काले लेखिदिएको स्कृप्ट पढ्नु र राजनीतिक दल स्थापना गरेर जनताको मन र मत जित्नु उस्तै होइन भन्ने तथ्य अर्का रेडियो कार्यक्रम प्रस्तोताको राजनीतिक यात्राले पनि देखाएको छ ।

काठमाडौंमा बालेन साहको जितबाट हौसिएर नयाँ राजनीतिक दल खोल्नु र स्वतन्त्र उम्मेदवारी घोषणा धेरैलाई बालेन साह बन्ने रहर जागेको देखिन्छ । अपवादका रूपमा कोही सफल भयो भन्दैमा सबै त्यस्तै हुन्छन् भन्ने होइन । प्रमुख राजनीतिक दलका कार्यशैलीमा केही कमजोरी नभएका होइन । तर, नीति, कार्यक्रम, सिद्धान्त, विचार र आदर्शबिनाको राजनीतिक दल सम्भव छैन । त्यो केवल पानीका फोका र खहरेका भेल जस्तै हुन् । आउँछन्, जान्छन् । अहिले रवि लामिछानेको पार्टी वा स्वतन्त्र उम्मेदवारी घोषणा पनि खहरे जस्तै देखिएको छ ।

अरूलाई आदर्शका पाठ पढाउने रविको आफ्नै जीवन र कामका विषयमा यावत् प्रश्नहरू नउठेका होइन । एउटा कार्यक्रम प्रस्तोताका हिसाबले अहिलेसम्म उनले राजनीतिक दल र अन्य मान्छे माथि प्रश्न गरेर सुख पाउँथे अब उनले आफ्नै विषयमा उठेका यावत् विषयमा जवाफ दिनुपर्ने अवस्था आएको छ । साथै इन्जिनियर आकर्षण पोखरेल, हरिशरण लामिछाने, पुकार बम, सञ्जय श्रेष्ठ, मनोज पण्डित, दीपेश केसीले अरूमाथि प्रश्नसँगै जवाफ दिन पनि तयार हुनुपर्छ ।