देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

देशान्तर

काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् । उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिए ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट पारेका थिए ।

तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गरेका थिए ।
सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ । सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।