देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई पुर्‍याउनुपर्नेमा जोड दिए ।

महासचिव डा बेदुराम भुसालले मुलुकमा संविधान र राजनीतिक प्रणालीको संरक्षण गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरी स्थापना गरिएको उक्त पार्टी जनतालाई सामाजिक न्याय, समानताका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय प्रचार विभागले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सीमित स्रोत र साधनबाट विभिन्न चुनावी प्रचार सामग्री उत्पादन गरेको बताउँदै प्रदेश, जिल्ला कमिटीले गठन गरेको प्रचार विभागलाई केन्द्रले समन्वय गर्ने बताए ।

प्रचार विभाग उपप्रमुख एवं समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्थाले अहिलेसम्म ४० जिल्लामा सङ्गठन विस्तार गरेको जानकारी दिँदै बाँकी स्थानमा पार्टीसँग समन्वय गरी गठन गरिने र प्रदेशस्तरीय भेला छिट्टै गरिने बताए ।