देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामको बिजोग

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका लागि यतिबेला दलीय राजनीति ‘चौटा खान गएकी बूढी झोलमा डुबी मेरी’ जस्तै बन्न पुगेको छ । संविधानभसाबाट नयाँ संविधान जारी भएपछि आफ्ना असन्तुष्टिका साथै मित्रहरूलाई खुसी बनाउँदै पुनः सत्तामा पुग्ने बाटो खोज्दै माओवादीबाट अलगिएका भट्टराई प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा दलविहीन बन्ने अवस्थामा पुगेका छन् ।

माओवादीमा बसिराख्दा पुष्पकमल दाहाल नै हावी हुने भएपछि उक्त पार्टीबाट अलग भएका भट्टराईले ताममmामसहित २०७३ साल जेठ ३० गते ‘नयाँ शक्ति’ पार्टीको घोषणा गरे । तर, नयाँ शक्ति भए पनि पार्टी पुरानै ढंगका हुँदा त्यसले काम गरेर २०७४ को स्थानीय तहको निर्वाचनमा खासै प्रभाव नदेखिएपछि सोही वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग हारगुहार गरेर सांसद बनेका भट्टराईले त्यसलगतै कांग्रेसविरुद्ध विष वमन गरेका थिए ।

नेपालको राष्ट्रिय पोसाकलाई दुत्कार्नपछि नपर्ने उनले निर्वाचनपछि दौरासुरुवाल लगाएर पनि पूर्वपश्चिमको नाटकीय अभियान चलाए । तर त्यसले पनि केही राहत नदिएपछि उनले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । तर, पार्टीको केन्द्रीय भूमिका उपेन्द्र यादव राखेर आफू दोस्रो तहको नेतृत्व बस्न तयार भए । जबकि दाहालपछिको नेता माओवादी केन्द्रमा उनै थिए । २०७७ वैशाख १० गते सबै मधेस केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्माण भयो । तर यो एकता पनि लामो समय टिक्न नसक्दा अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल गठन भएको छ ।

बाबुराम जसपामा नै संघीय परिषद् अध्यक्षको हैसियतमा अहिलेसम्म रहे पनि अब उनको भूमिका त्यहाँ पनि सकिएको छ । अध्यक्ष उपेन्द्र यादवले मन नलागे पार्टी छाडेर जान उनलाई भनिसकेका छन् । सल्लाहमै पार्टीबाट अलगिन सकिने बताएपछि बाबुरामको अवस्था नाजुक बन्न पुगेको छ । जसपाले असार अन्तिम साता वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

तर, भट्टराई पक्षलाई उक्त बैठकमा आमन्त्रण नगरेको गुनासोसमेत उनीहरूले गर्दै आएका छन् । यादव नेतृत्वको पार्टीमा पनि आफ्नो भूमिका नभएपछि अहिले भट्टराई पार्टी एकता र आफ्नो भूमिकाका लागि एमाले, माओवादी केन्द्रका साथै महन्थ ठाकुर नेतृत्वको लोसपासँग पनि छलफलमा जुटेका छन् । स्थानीय तह चुनावअघि एमालेसँग एकताका विषयमा छलफलसमेत चलाएको एक एमाले नेताले बताए । बाबुरामलाई एमालेसँग नजिक्याउने अवस्था गत वैशाख ३० गतेको स्थानीय चुनावले पु¥याएको आकलन गरिएको छ । पाँचदलीय गठबन्धन बनाएर स्थानीय चुनावमा गए पनि बाबुरामको गृहपालिका पालुङटारमा कांग्रेस र माओवादी केन्द्रले साथ नदिएपछि एमालेसँग सहकार्य गर्न पुगेका थिए । अन्त्यमा माओवादीले जितेपछि बाबुराम एमालेसँग दीर्घकालीन रूपमा सहकार्य गर्न पुगेको बताइएको छ । एमालेमा बाबुरामको पोजिसन र भूमिका स्पष्ट नभएपछि सो कुरा रोकिएको ती नेताको दाबी छ ।

एमालेसँग कुरा नमिलेपछि नै बाबुराम लोसपासँग सहकार्य गर्ने अवस्थामा पुगेको बताइएको छ । तर, लोसपामा गए पनि आफ्नो जनाधारमा खासै प्रभाव नपर्ने भएकाले उनीबाट लोसपाले खासै लाभ लिने अवस्था छैन । यतिबेला जसपामा यादवसँग बाबुरामको पानी बाराबारको अवस्था छ । त्यही भएर जसपामा बाबुरामलाई बस्न सक्ने अवस्था छैन । छोरी मानुषीलाई राजनीतिमा स्थापित गर्ने र अन्य कुनै दलसँग मिलेर फेरि एक पटक प्रधानमन्त्री बन्ने दाउमा भौतारिएका भट्टराईका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने देखिएको छ ।