देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

देशान्तर

काठमाण्डौ । पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी विषय रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । बैठकमा गएको बैशाख ३० गते भएको पालिका चुनावको समीक्षा तथा आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तयारीबारे पनि छलफल हुनेछ । २०७८ पुस १८ गते काठमाण्डौमा सम्पन्न पार्टीको आठौँ महाधिवेशन २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गरेर सम्पन्न भएको थियो ।

पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । अध्यक्षबाहेकका अन्य पदाधिकारी अहिलेसम्म चयन हुन सकेको छैन । आठौँ महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ तर पदाधिकारीको सङ्ख्या भने तोकिएको छैन । महाधिवेशनले २ सय ९९ केन्द्रीय समिति रहने व्यवस्था गरेको छ ।

थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गएको जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेलाई सारिएको थियो । असार १५ गतेबाट १९ गतेका लागि तोकिएको थियो ।