काठमाडौं – राष्ट्रियसभाले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
विशेष समय
राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “ संसद्ले नागरिकता र कर्मचारीलगायतका ऐन ल्याउन सकेको छैन, सांसदको हैसियतले मलाई चिन्ता छ ।”
सांसद बीना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे ।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमा कार्यान्वयन भए/ नभएकाबारे सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद नारायणदत्त मिश्रले किसानले मल अभावबारे भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बस्नेछ ।





प्रतिक्रिया