देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कम्युनिस्ट मिलाउन आउँदै चिनियाँ नेता

देशान्तर

काठमाडौं । नेपालमा पञ्चायतकालदेखि नै चल्दै आएको ‘चीनको बेइजिङमा पानी पर्दा नेपालका कम्युनिस्टहरूले यहाँ छाता ओढ्छन्’ भन्ने आहान आज पर्यन्त चरितार्थ भइरहेको छ । नेपालका कहिले पार्टी एकता नै गर्ने, कहिले गठबन्धन गर्ने तथा कहिले टुक्रिने र गठबन्धन तोड्ने नेपाली कम्युनिस्टहरूका हरेक गतिविधिमा चिनियाँ नेताहरूको सहभागिता प्रत्यक्ष तथा परोक्ष रूपमा देखिँदै आइरहेको अवस्थामा फेरि पनि यहाँका वामपन्थीहरूलाई मिलाउने भित्री मनसायसहित एक साताअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भएका लिउ जियान्चाओ आज आइतबार नेपालको चारदिने भ्रमणमा काठमाडौं आउँदै छन् । पछिल्ला वर्षहरूमा बढ्दै गएको नेपाली राजनीतिमा चीनको चासो र सहभागिताकै एक अर्को शृंखलाका रूपमा हेरिएको लिउको भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध सुदृढीकरण भन्दा नेपालमा विभिन्न नाम र समूहमा रहेका वामपन्थी दलहरूलाई मिलाउने हो भन्दा दुई मत हुँदैन । नेपालको राजनीतिबारे दक्षिणी छिमेकी मुलुक भारतका नेताहरूले सामान्य चासो राख्दासमेत ‘भारतीय विस्तारवाद’को नारा लगाउने नेपालका वामपन्थी दल र तिनका नेताहरू नेपालको राजनीतिमा चीनका नेताहरूले ‘माइक्रो मेनेजमेन्ट’मा हात हाल्दासमेत स्वागत मात्रै गर्ने गरेका छन् ।

विदेशी शक्तिहरूको आड र बलमा चार वर्षअघि नेपालका कम्युनिस्ट भनिएका दुई ठूला दल एमाले र माओवादी एक भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो तर, नेताहरूको व्यक्तिगत स्वार्थ टकराउँदा एकीकरणको काम नसकिंदै फेरि विभाजित भएपछि अहिले फेरि त्यसलाई जोड्न चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय बनेको छ । २०७४मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमै रहेकाबेला माओवादी केन्द्रलाई चीनकै बलमा एमालेसँग चुनावी तालमेल गराउँदै एकीकरणसम्म गर्ने अवस्थामा पु¥याइएको थियो भने अहिले विभाजित अवस्थामा रहेका यी दुई दलबीचको सम्बन्ध सुधार र गठबन्धन निर्माणका लागि चीन फेरि सक्रिय भएको छ । विगतमा पार्टी विभाजन हुनबाट जोगाउन लागिपरेको उत्तरी छिमेकी चीन अहिले फेरि मिलाउनका लागिलागि परेको छ ।

चीनसँग निकट सम्बन्ध राख्ने झलनाथ खनाल, घनश्याम भुसालदेखि वर्षमान पुन, देवप्रसाद गुरुङसहितका नेताहरूमार्फत एकताका लागि पहल कुराकानी भइरहेको स्रोतको दाबी छ । केही दिनअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले एमाले र माओवादीका नेताहरूसँग भर्चुअल वार्ता गरेका थिए । कम्युनिस्टहरू विभाजित हुँदा कांग्रेसले लाभ उठाएको बताउँदै आएका उनीहरूले वामपन्थीहरूको एकतामा जोड दिँदै आएका छन् भने विगतमा एक भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एमाले र माओवादी केन्द्र अलग हुन नदिन केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका नेतालाई पद बाँडफाँडकै तहमा झरेर नेपालका लागि चिनियाँ राजदूतले कुरा गरेको सार्वजनिक भएको थियो । प्रधानमन्त्री र पार्टी अध्यक्षको भूमिकामा रहेका ओलीलाई दुईमध्ये एक पदबाट हटाउने र त्यसका लागि केही समय पर्खन गरेको आग्रहअनुसार दाहालले त्यतिबेला केही समय कुरेको निकटस्रोतहरूको दाबी छ । त्यसअनुसार काम नभएको भन्दै दाहालले गुनासो गरेपछि चिनियाँ राजदूतले ओलीलाई दुईमध्ये एक पद छाडेर एकता जोगाउन आग्रह गरेपनि ओली तयार नभएको बताइएको छ । त्यसपछि पनि विभिन्न तहमा कम्युनिस्ट एकता जोगाउन उनीहरू सक्रिय रहेपनि सफल हुन नसकेको जनाउँदै पार्टी विभाजनपछि पनि निरन्तर सक्रिय हुनेगरी दुवै पार्टीका केही नेतालाई बेइजिङ नै बोलाएर यसबीचमा कुरा गरेका थिए । केही समयअघि चीन गएर फर्केका देव गुरुङले नेपाल आएलगत्तै कम्युनिस्ट पार्टीहरूबीच एकताको सम्भावना रहेको दाबी गरेका थिए ।

यसबीचमा विभिन्न तहका नेताहरू विभिन्न माध्यमबाट एमाले र माओवादीका शीर्ष र अन्य नेताले कुरा गर्दै आएका थिए । हालैमात्र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी सम्हालेका लिउ जियान्चाओ चारदिने नेपाल भ्रमणका क्रममा आज (आइतबार) नेपाल आइपुग्दै छन् । नेपालमा भारत, अमेरिकासहितको चासो र उपस्थिति बढ्न नपाओस् तथा दलाई लामा र तिब्बतीकाविषयमा निकै चासोपूर्वक नेपाललाई हेर्ने गरेको चीनले आफ्नो स्वार्थका साथै दक्षिणएसियामा आफ्नो उपस्थितिलाई बलियो देखाउनका लागि पनि नेपालका दुई ठूला कम्युनिस्ट दल भनिएका एमाले र माओवादीबीचको एकता नभएपनि सहकार्यको पक्षमा देखिएको छ । सोहीक्रममा लिउ नेपाल आउन लागेका हुन् । मे २०२२ मा चिनियाँ अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेपछि उनले नेपाली नेताहरू ओली, दाहाल र हालै परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत भिडियो कन्फरेन्सको माध्यमबाट कुराकानी गरेका थिए । नेपालले अमेरिकाको स्टेट पाटर्नरसिप प्रोगाम (एसपीपी)बाट बाहिरिने निर्णय गरेसँगै नेपालको निर्णयको स्वागत गरेको चीनले उच्च सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेट गर्ने गरी चिनियाँ वरिष्ठ राजनीतिज्ञ लिउलाई नेपाल पठाउन लागेको हो । नेपालमा नेकपाकालीन कम्युनिस्ट सरकार भएका बेला चीनले वाम शक्तिलाई एक बनाई राख्न आफ्नो सक्रियता बढाएको थियो । कम्युनिस्ट पार्टीलाई एक बनाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पार्टीका शीर्ष नेताहरूलाई पटकपटक भेटेर पार्टी नफुटाउन दबाब दिएकी थिइन् । कूटनीतिज्ञका रूपमा उनको सक्रियता अस्वाभाविक भएको भन्दै कतिपयले उनको आलोचनासमेत गरेका थिए ।