काठमाडौं – प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
उक्त विधेयकउपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।
यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए।
नेपालको संविधानको धारा ९४ मा सङ्घीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नपाइने प्रावधान छ ।
सांसद रावलको नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
सांसदहरुको सङ्ख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेको थियो ।





प्रतिक्रिया