देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महावीर पुनकाे मर्यादा प्रदेश सांसदबराबर, गण्डकी रत्नबाट विभूषित

देशान्तर

काठमाडौं – नेपालका वैज्ञानिक महावीर पुनको मर्यादा अबदेखि प्रदेश सांसद बराबरको भएको छ । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट विभूषित गरेसँगै उनको मर्यादा पनि प्रदेश सांसद बराबर भएको घाेषणा गरेको छ । अब उनले सार्वजनिक कार्यक्रममा प्रदेशसभा सदस्यको मर्यादाक्रम पाउनेछन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई गण्डकी रत्नबाट विभूषित गरे । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो ।

प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए ।

गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए ।

उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे। उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेश भित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको बताए । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए ।

विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’

अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविश्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उनले बताए । गण्डकीमा आविश्कार केन्द्रकै खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि उनले खुलाए ।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ ।

प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।