देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

देशान्तर

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उनले छ लाख युवा नागरिकता नपाएका कारणले समस्याको समाना गरिरहेको बताए ।

नागरिकता नभएका कारणले युवाले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउँदै उनले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाए ।

नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि वर्तमान सरकारले नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको मन्त्री कार्कीले जानकारी दिए । नागरिकतासम्बन्धी संसद्मा दर्ता भएको नयाँ विधेयक चाडै नै पारित हुने उनले बताए ।

नागरिकतासम्बन्धी नयाँ विधेयक संसद्मा रहेका प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित सबै राजनीतिक दलको सहमति गरेर पारित हुने उनले बताए । नागरिकता विधेयक संसद्बाट पारित भएसँगै अधिकांश व्यक्तिले नागरिकता पाउने उनले विश्वास व्यक्त गरे।

कांग्रेसका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला र कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सहभागिता रहेको थियो ।