काठमाडौं । हालै सम्पन्न चुनाव पश्चात चुनावको समीक्षा र भावी चुनावको रणनीति तय गर्न बसेको सत्ता गठबन्धनको नेतृत्वकारी प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहज बहुमतका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै कार्यशैलीका कारण लोकप्रिय मतका साथ निर्वाचित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारले गरेका हालैका निर्णयहरूका बारेमा आलोचना गर्दै सभापतिलाई सघाउने धारणा प्रस्तुत गर्दै सचेत गराएका छन् ।
यसअघि २ दिन सम्पन्न बैठकमा प्रतिस्पर्धी उम्मेदवार डा. शेखर कोइराला र उनी पक्षीय केन्द्रीय सदस्यहरूले पार्टी र सरकारको नेतृत्व गर्न सभापति असफल भएको धारणा व्यक्त गर्दा देउवा पक्षीय सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले कोइराला र महामन्त्रीद्वयको खरो आलोचना गरेको सन्दर्भमा हिजो शनिवार महामन्त्रीद्वय थापा र शर्मा तथा कोइराला पक्षका पदाधिकारीले तर्कसहित प्रतिवाद गरेपछि सहज बहुमतका सभापति एवं प्रधानमन्त्री देउवा बैठकमा धम्क्याएजसरी निर्णय लिन हच्किएका छन् ।
त्यसैले उनी आफ्नो गुटको गृहकार्यसहित आज आइतबार वा भोलि सोमबार मात्र बैठकका निर्णय सार्वजनिक गर्ने टुंगोमा पुगेका छन् । त्यसैले हिजोसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कुनै पनि निर्णय गर्न सकेको छैन । यसलाई अल्पमतमा रहेका कोइराला र उनी पक्षीय पदाधिकारीहरूले देउवा ‘हच्किएको’ रूपमा लिँदै आफूहरूको अडान सही रहेको निष्कर्ष निकालेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा गठबन्धन सरकारको कार्यशैली, पार्टी पदाधिकारीको व्यवहार र त्यसका कारण आम कार्यकर्तामा परेको असरलाई लिएर चर्को मतभेद उत्पन्न भएको छ । गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा भएको छलफलमा सरकारको कार्यशैली र निर्णयलाई लिएर अधिकांश सदस्यहरुले आलोचना गरेका छन् भने संस्थापन पक्षले अनावश्यक विषयमासमेत झमेला झिकेको भन्दै इतर पक्षको आलोचना गरेका छन् । हिजो (शनिबार) बसेको केन्द्रीय समिति बैठकमा पदाधिकारीहरूले बोल्ने क्रममा पनि विवादको झल्को देखियो । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर पनि बैठकमा पक्ष÷विपक्षमा चर्काचर्की भयो । संस्थापन पक्षले स्थानीय तह चुनावमा तालमेलकै कारण राम्रो नतिजा हासिल गरेको बताइरहँदा इतर पक्षकाले आगामी चुनावमा खास खास ठाउँमा मात्रै तालमेल गर्नुपर्ने तर्क पेस ग¥यो । सभापति देउवाले भने गठबन्धन गर्नुको विकल्प नभएको बताएका छन्। उनले लोकतन्त्रप्रति आफ्नो विश्वासमा शंका नगर्न चेतावनी दिए ।
पार्टी नीति र सरकारको कार्यशैलीबीच तालमेल नभएको देखिइरहेका बेला बसेको केन्द्रीय समिति बैठकमा पार्टीकै पदाधिकारीले सरकारको आलोचना गरिरहँदा सरकारमै रहेका मन्त्रीहरुले त्यसको तथ्यगत खण्डन गर्न सकेनन् । पाँच दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा अधिकां केन्द्रीय सदस्यले सरकारको कामकारबाहीबारे प्रश्न उठाए पनि पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले त्यसको विश्वासिलो प्रतिवाद गर्न सकेनन् ।
बैठकमा संस्थापन पक्ष र इतर पक्षबीच फरक–फरक रूपमा नै तर्क पेस भए । इतरपक्षले सरकार सञ्चालनमा मात्रै नभई पार्टी सञ्चालनमा पनि नेतृत्व अक्षम भएको दाबी गरिरहँदा संस्थापन पक्षले भने त्यसको खरो प्रतिवाद ग¥यो । पार्टीकै पदाधिकारीले सरकारलाई सहयोग नगरेको, महामन्त्रीहरूले पार्टी सञ्चालन र कामका बारेमा ध्यान नदिई ‘मिडिया स्टन्ट’ मात्र गरेको र सरकारले पार्टी निर्णय अनुसारमात्रै काम गरिरहेको दाबी गरिरहँदा इतर पक्षले भने पार्टीको सरकार हो भन्ने आभाष पनि नभएको दाबी गर्यो ।
शनिबारको केन्द्रीय समिति बैठमा महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताए । पूर्ववर्ती केपी ओली सरकारभन्दा अहिलेको सरकार फरक नदेखिएको भन्दै उनले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताए । ‘हिजो हामीले ओली सरकारको तीव्र आलोचना ग¥यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’ पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाको भनाइ थियो ।
उनले आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताए । ‘घेराबन्दी गर्ने खेल भइराख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उनको भनाइ थियो । केन्द्रीय सदस्यहरुले उठाएको महामन्त्री भएर गुटको भेलामा सहभागी भएको भन्ने प्रश्नको जवाफमा उनको भनाइ थियो ‘पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने’ बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले ओली सरकारकै कमजोरी वर्तमान सरकारले दोहो¥याएकाले सरकारको समर्थन गर्न नसकिएको बताएका छन् । ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो, एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन’ उनले भने । सुुशासनको सवालमा पनि सरकार खरो उत्रिन नसकेको र संघ तथा प्रदेशसँग पनि संघीय सरकारले पर्याप्त समन्वय गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो । सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सफलता भए पनि सुशासनका विषयमा भने सरकार चुकेको शर्माले बताए । उनले देशको समग्र अर्थतन्त्रकाबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताए । उनले सहमहामन्त्रीहरु जिम्मेवारीविहीन भएको भन्दै उनीहरुलाई पनि एक हप्ताभित्र जिम्मेवारी दिनुपर्ने र एक हप्ताभित्रै विभागहरूरुलाई पूर्णता बताए । उनले भदौ दोस्रो हप्ता नीति महाधिवेशन गर्न पनि प्रस्ताव गरे । उनले आफूहरूले सभापतिलाई असहयोग गरेको नभई सभापतिले विधानअनुसार काम नगर्दा घचघच्याएको स्पष्ट पारे । शनिबारकै बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै आलोचना गरे । नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइरालासँग सामान्य छलफलसमेत नगरिएको, पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखरसँग छलफल नै नगरिएको, एकलौटी गरिएको लगायत विषयमा उनीहरूले कुरा उठाएका थिए ।
शनिबारकै बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि धारणा राखे । खड्का पार्टी निर्णयबमोजिम नै काम भइरहेको बताइरँहदा गुरुङले भने सरकारका हरेक कामलाई साथ दिन सकिने अवस्था नरहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरूको आलोचना गरेका थिए ।
सभापति शेरबहादुर देउवाको सहज बहुमत रहेको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले देउवाको कार्यशैलीका बारेमा आलोचना गरेपछि सभापति देउवाले विधान नै संशोधन गरेर तेस्रो पटक पनि सभापति हुने चेतावनी दिएका थिए । कांग्रेस विधानअनुसार २ पटकभन्दा बढी सभापति हुन पाइँदैन । देउवाले केन्द्रीय समिति बैठकमा बोलेको विषयलाई लिएर पनि उनको आलोचना भइरहेको छ ।
केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको रणनीतिमा पनि छलफल भयो । सभापति देउवासहित उनी पक्षीय केन्द्रीय सदस्यहरूले आगामी निर्वाचनमा पनि गठबन्धन दलहरूबीच तालमेल गर्न सुझाए पनि नेता शेखर कोइराला पक्षीय सदस्यहरूले भने पार्टी हीतअनुकूल हुने गरी निश्चित ठाउँमा मात्रै तालमेल गर्न सकिने बताए । स्थानीय तह निर्वाचन परिणाम सन्तोषजनक रहे पनि कतिपय स्थानमा पार्टीले अनावश्यक रूपमा आफ्नो वर्चस्व गुमाउनु परेको बताएका थिए ।





प्रतिक्रिया