काठमाडौं । सरकारको प्रमुख कानुनी सल्लाहकारको रूपमा हेरिने र त्यसकै लागि नियुक्त महान्यायाधिवक्ता नै विभिन्न निहुँमा कानुन उल्लंघनका घटनामा क्रमबद्ध रूपमा मुछिएपछि मुलुकमा कानुनी शासन र न्यायको अवस्था कस्तो हुने हो भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ । हालैका केही घटनामा सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खातीको एकपछि अर्को घटनामा संलग्नता पुष्टि हुँदै आएपछि सम्पूर्ण न्याय क्षेत्रमा खातीको आतंक भन्न थालिएको छ । सरकार बेलैमा सचेत नभए वा स्वयं खाती समयमै नसच्चिए यसले मुलुकको न्याय क्षेत्रलाई गम्भीर असर गर्ने न्याय प्रशासन क्षेत्रमा चर्चा चल्न थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र भएकै कारण महान्यायाधिवक्ता बनेका खातीले कानुनविपरीतका कामलाई प्रश्रयमात्रै दिएका छैनन्– कानुन उल्लंघन गर्नेलाई प्रश्रय दिने काममा लागेका छन् । बलात्कार मुद्दाका अभियुक्त छुटाउने गरी मुद्दा कमजोर बनाउन दिएको आदेश नमानेकै कारण ललितपुरकी सहन्यायाधिवक्ता संगीता थोकरलाई सरुवा गरेको तथा आफ्नै गृहपालिका बाजुराको बुढीगंगाको निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लागेका खाती लुटेरालाई जोगाउने धन्दामा समेत लागेको पाइएको छ । केही दिनअघि काठमाडौंको झोछेंमा भएको सुन लुटपाट काण्डका आरोपीलाई जोगाउनका लागि खातीले प्रहरीदेखि अदालतसम्म चलखेल गरेको खुलेको छ ।
झण्डै २ साताअघि झोछे्रंमा करिब ४० ग्राम सुन लुटपाट भयो । बन्दुक देखाएर सुन लुट्ने लुटेरा थिए हिमाल थापा, जो महान्यायाधिवक्ता खातीका अंगरक्षकका साथै पारिवारिक नातेदारसमेत हुन् । नातामा ‘भदा साला’ पर्ने थापा राष्ट्रिय अनुसन्धान विभागका प्रहरी सहायक निरीक्षक हुन् । आफूसँग भएको पेस्तोल देखाएर सुन लुटेका थापालाई घटनास्थलमै स्थानीयवासीले घेरा हाली प्रहरीको जिम्मा लगाइदिएका थिए । थापा अहिले पनि महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् । थापासँगै सुन लुट्ने ठाउँ देखाउने दीपक बोगटी पनि पक्राउ परेका छन् । बोगटीले ठाउँ पहिचान गरी थापालाई लगेको र थापाले पेस्तोल देखाएर सुन लुटेको प्रहरीले जनाएको छ ।
खाती र थापाको सम्बन्ध यतिसम्म बलियो देखिएको छ कि खाती आफैंले राष्ट्रिय अनुसन्धान विभागलाई पत्र लेखेर थापालाई आफ्नो अंगरक्षकका रूपमा पठाउन आग्रह गरेका थिए । पारिवारिक नातेदारसमेत रहेकाले खातीले थापालाई रोजेको बुझाइ छ । जनसेवाका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले थापा र बोगटीविरुद्ध लुटपाटमा मुद्दा चलाउन दुईपटक जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिसकेका छन् ।
आफ्नै अंगरक्षक तथा नातेदार लुटपाटको आरोपमा पक्राउ परेपछि खातीले उनलाई छुटाउन प्रहरीको नेतृत्वलाई गुहारेका छन् । केही दिनअघि खातीले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई आफ्नै कार्यालयमा बोलाएर थापाविरुद्ध मुद्दा नचलाउन र तत्काल रिहा गर्न निर्देशन दिएका छन् । खातीको आदेशअनुसार आईजीपी सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकलाई निर्देशन दिए । धानुनले डिएसपी पौडेललाई आदेश दिए । तर, पौडेलले भने रंगेहात पक्राउ परेकालाई आफूले छाड्न नसक्ने भन्दै अदालतमा बुझाउने अडान लिएका छन् ।
प्रहरी नेतृत्वलाई नै आदेश दिँदासमेत सुन लुटेरा थापा रिहा नभएपछि खातीले काठमाडौंका सरकारी वकिल राजन हमाललाई आफ्नै कार्यालयमा बोलाएर थापा र बोगटीविरुद्ध मुद्दा नचलाउन निर्देशन दिएका छन् । मुद्दा चलाउने वा नचलाउने अधिकार आफूमा रहने भन्दै ‘त्यो अधिकार प्रयोग गर्न नपरोस्’ भन्ने चेतावनी पनि खातीले हमाललाई दिएको स्रोतले देशान्तरलाई बतायो ।
प्रहरीका अनुसार सुन लुट्दै गर्दा पक्राउ परेका थापा यसअघि पनि लुटपाटकै आरोपमा पक्राउ परेका व्यक्ति हुन् । पाँच वर्षअघि थापा दरबारमार्ग क्षेत्रबाट पक्राउ परेको र लुटेको सामग्री फिर्ता गरेपछि छुटेको जनाइएको छ । एउटै व्यक्ति पटक÷पटक एकैखाले अपराधमा पक्राउ पर्नुले पनि प्रहरीले गम्भीर रूपमा लिएको जनाइएको छ । त्यसमाथि प्रहरीकै मान्छे भएकाले पनि यस घटनालाई चासोका साथ हेरिएको छ । महान्यायाधिवक्ता खातीले सामान्य मुद्दामा समेत न्यायिक क्षेत्रमा चलखेल गरिरहेको भन्दै उनको आलोचना बढेको छ ।





प्रतिक्रिया