काठमाडौं । केही वर्ष अघिसम्म मौन कूटनीति प्रयोग गर्ने उत्तरी छिमेकी चीन पछिल्लो समय भने नेपालको आन्तरिक राजनीतिमा खुल्ला रूपमा नै हस्तक्षेपकारी भूमिकामा देखिएको छ । विगतमा दुई ठूला कम्युनिस्ट मिलाउन भूमिका खेलेको चीनले तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुग्दा सहमतिका लागि प्रयासमात्रै गरेन– त्यसका लागि मध्यस्थकर्ताको भूमिका नै निर्वाह गर्यो ।
राष्ट्रपति विद्या भण्डारीसहित तत्कालीन नेकपा नेता केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतलाई पटक÷पटक भेटेर सकेसम्म एकता कायम गर्न नसके गठबन्धन गर्न दबाव दिएको चीन अहिले ‘विचार मिल्ने समूह’बीच एकता हुनुपर्ने प्रयासमा लागेको छ ।
कम्युनिस्ट पार्टी बीचको एकताका लागि प्राथमिकता दिँदै आएको चीनले नेपालका कम्युनिस्ट नेतालाई चीन बोलाउने र चीनबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण गराउने गरेको छ । त्यहीक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ चियान छाओले नेपाल भ्रमण गरेका छन् ।
नेपालका कम्युनिष्ट पार्टी बीचको एकता र तालमेललाई मुख्य प्राथमिकता राखेर नेपाल आएका उनले सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग केवल औपचारिक भेटवार्ता गरे । कांग्रेसलाई पनि नचिढ्याउने नीति लिएको चीनले मुख्यरूपमा वाम एकतालाई नै ध्यान दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतासँग दुई घण्टा समय बिताएका उनले एमाले अध्यक्ष केपी ओलीसहितका नेतासँग चार घण्टाभन्दा बढी समय बिताएका थिए ।
२०७४ मा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउन भूमिका खेलेकी योया अर्थात नेपाली नाम ‘सरला’लाई साथै लिएर आएका विदेश विभाग प्रमुख लिउले अहिले पनि चीनले नेपालका कम्युनिस्ट पार्टी एक ठाउँमा उभिएको हेर्न चाहेको बताएका थिए । लिउसँगको भेटमा ओलीले भने विगतमा प्रम वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा गर्न चिनियाँ पक्षको आग्रहप्रति भने असन्तुष्टि जनाएको बताइएको छ ।
दाहालले पनि कम्युनिष्ट बीचको एकताका लागि आफू बाधक नभए पनि एमाले नेतृत्व त्यसका लागि तयार नभएको भन्दै विगतमा भएको कुराकानी स्मरण गराएको स्रोतको दाबी छ । ओली, दाहालका साथै माधवकुमार नेपालसहितका नेतालाई पनि मिलेर अघि बढ्न जियान चाओले आग्रह गरेको बताइएको छ । जियान चाओको भ्रमणका क्रममा सँगै नेपाल उत्रिएकी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला विशेषज्ञ योया नेपालका कम्युनिष्ट पार्टीका नेतासँग थप छलफलका लागि अहिले पनि काठमाडौंमै रहेको दूतावासस्रोतले जनाएको छ । हाल बेइजिङ बस्दै आएकी योया यसअघि दुई वर्ष नेपालमा बिताइसकेकी छिन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसमा नेपाली भाषा अध्ययन गरेकी उनी नेपालका प्रमुख दलका शीर्ष नेतासँग अहिलेमात्र होइन– पहिलादेखि नै सिधा सम्पर्कमा रहँदै आएकी छिन् । नेपालमा रहेका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र मिलाउन विगतमा महत्वपपूर्ण भूमिका उनले निर्वाह गरेकी उनले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि दुई ठूला कम्युनिष्टलाई मिलाउने टाक्स लिएर आएको बताइएको छ ।
पार्टी एकीकरणका लागि सम्भव नभए पनि चुनावी तालमेलसहित कार्यगत एकताका लागि उनले पहल लिने जनाउँदै एमाले र नेकपा माओवादीका विभिन्न तहका नेतासँग संवादमा जुटेको स्रोतको दाबी छ । चीनसँग निकट सम्बन्ध राख्ने झलनाथ खनाल, घनश्याम भुसालदेखि वर्षमान पुन, देवप्रसाद गुरुङसहितका नेतामार्फत एकताका लागि पहल कुराकानी भइरहेको स्रोतको दाबी छ । योयालाई नेपालका लागि चीनको आगामी राजदूतका रूपमा समेत हेरिएको छ ।





प्रतिक्रिया