देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

देशान्तर

काठमाडौं – कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् ।

विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् ।

गत चैतको अन्तिम सातादेखि संक्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि सङ्क्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए।

सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना सङ्क्रमित भेटिएका छन् । उहाँले ३४ जनाको स्वाबलाई परीक्षण गर्दा छ जना महिलामा सङ्क्रमण पुष्टि भएको बताए ।

ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शङ्का लागि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए ।

अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए ।

नारायणी अस्पतालमा हाल प्रत्येक मङ्गलबार शङ्का लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो संख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।