काठमाडौं – गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ ।
संघको सचिवालयमा आज भएको छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र गैरआवासीय नेपाली संघको तर्फबाट कुल आर्चाय ,रविना थापा र डा बद्री केसीको सहभागीता रहेको थियो ।
विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिदै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यबिधी बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने वेलामा नै समेट्न सकिने बताए ।
कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।
वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिबि क्षेत्रीले बैदेशिक रोजगारमा जाने नेपालीहरुलाईृ अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने बताए ।
उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावानात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको धारणा राखे ।
सरकारले आर्थिक बर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औल्याएका छन् ।संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए ।





प्रतिक्रिया