काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले मूल्यमान्यताको राजनीति अन्त्य भएकाले राजनीतिक दलहरुप्रति निराशा बढेको बताएका छन्। उनले ‘पावर बेस’ राजनीति अगाडि बढेकाले जनतामा निराशा बढेको दाबी समेत गरे।
२०४६ सालपछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर अहिलेको अवस्थामा पुगेको उनको भनाइ थियो।
काठमाडौं महानगरपालिका वडा नम्बर १० एकाइ समितिले आज (शुक्रबार) आयोजना गरेको छलफल कार्यक्रममा नेता सिंहले भने, ‘अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकसामु गम्भीर चुनौतीहरु देखा परिरहेको छ।
’राजनीतिक दलहरु विधि-पद्धतिभन्दा आफ्नो स्वार्थउन्मुख भएकाले झन् चुनौती थपिएको उनको दाबी थियो। उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेमा समेत जोड दिए।
प्राप्त उपलब्धि संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै नेता सिंहले राजनीतिक दलहरुले जिम्मेवार बनेर आगामी चुनोती सामना गर्न लाग्नुपर्ने बताए।





प्रतिक्रिया