देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीकाे भन्सार कार्यालयभित्र बाँदर आतङ्क !

देशान्तर

काठमाडौं – कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए।

भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र मुख छोपेर हिँड्न बाध्य भएका हुन्। उनले भने, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ।’

भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरन्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।

कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै थिए । नाम भन्न नचाहेका उनले भने, “राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो।’

कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भने, ‘हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्‍यो।

भन्सार छलेर चोरी पैठारीको अभियोगमा प्रहरीले झण्डै तीन/चार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरन्डामा थन्क्याइँदा भित्र पसेका बाँदरले खाएर नोक्सान पुर्‍याएका हुन्। उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।