काठमाडौं । ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भने जस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक जीवन पनि यतिबेला त्यस्तै हुन पुगेको छ । राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दासम्म पार्टी गठन र विघटनको दुष्चक्रबाट बाहिर निस्कन सकेका छैनन् । पार्टी गठन, विघटन र परित्यागको लामो चक्र पूरा गरेका भट्टराईले केही दिनअघि फेरि नयाँ राजनीतिक दल दर्ता गराएका छन् । कहिले भारत नजिक भएको त कहिले चीनको पछि कुदेको आरोप खेप्दै आएका भट्टराईलाई जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि उनले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी नामको अर्को दल दर्ता गराएका छन् ।
संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका बाबुराम भट्टराई २०७९ असार अन्तिममा आइपुग्दा जनता समाजवादी पार्टीको सदस्यबाट पनि निष्कासित भएका छन् । २०७३ जेठमा नयाँ शक्ति पार्टी गठन गरेका भट्टराई प्रतिनिधि र प्रदेशसभाको मुखमा अहिले यता न उताको बन्न पुगेका छन् । केही समयअघिसम्म जनता समाजवादी पार्टीमा बहुमत पु¥याएर उक्त दल नै कब्जा गर्ने सुरमा लागेका बाबुरामको योजना असफल बन्न पुग्दा भट्टराई अहिले दलविहीनको अवस्थामा पुगेपछि नयाँ दल दर्ता गराएका भट्टराईले आफ्नो पार्टीको चुनाव चिह्न आँखा राखेका छन् । यसअघि भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न पनि आँखा थियो । उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९ र३० गतेको बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेपछि भट्टराईले निर्वाचन आयोगमा दर्ता गराएको नेपाल समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने व्यवस्था गरिएको छ । भट्टराई संघीय परिषद्को अध्यक्ष हुनेछन् भने एक जना अध्यक्षमा महेन्द्र यादव रहने निश्चत भएको छ । तर, अरू को को रहने भन्ने कुनै टुंगो छैन ।
सन् १९७७मा अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराईले २०३९ सालमा कम्युनिस्टको सदस्यता लिएर मोहनविक्रम सिंह नेतृत्वको पार्टीमा धेरै समय राजनीति गरे । आफ्नो कुराबाहेक अरूको विचारमा सहमत राख्न नरुचाउने उनी २०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मशाल छोडेर एकता केन्द्र मशालमा जोडिएकाथिए । फागुन १ गते २०५२ सालमा ‘जनयुद्ध’मा होमिएका भट्टराई त्यसपछि नयाँ संविधान जारी हुँदासम्म माओवादीमै रहे । नयाँ संविधान जारी भएलगत्तै माओवादीसँगै सांसद पद पनि त्यागेका भट्टराईले पूर्वमाओवादी नेता तथा कार्यकर्ताको सहभागितामा ३० जेठ २०७३ मा काठमाडौँको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा गरेका थिए ।
१७ असोज २०७४ सालमा तत्कालीन एमाले माओवादीसहित नयाँ शक्तिका बाबुराम भट्टराई तालमेलसहित एकता घोषणा कार्यक्रममा सहभागीलगत्तै प्रदेश प्रतिनिधिसभा निर्वाचनमा तालमेलमा भागबन्डा नमिलेपछि कांग्रेससँग मिल्न आइपुगेका भट्टराई २३ वैशाख २०७६ साल संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भई संघीय समाजवादी पार्टी नेपाल गठन गरे । १० वैशाख २०७७ साल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी पार्टी गठन भयो । २२ असार २०७८ साल जसपा विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि सोही पार्टीमा रहेका भट्टराई अहिले त्यसबाट पनि अलग भई नयाँ दलमा लागेका छन् ।
सधैं अस्थिर, अन्तरमुखी र अरूको इशारामा चल्ने नेताको छवि बनाएका भट्टराईले सक्रिय राजनीतिबाट अलग हुने गुलिया कुरा गर्ने तर, कुनै न कुनै पार्टी बनाउने चरित्र देखाएको उनलाई नजिकबाट चिन्नेहरूले बताउने गरेका छन् ।





प्रतिक्रिया