देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा

देशान्तर

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग छलफलमाथि छलफल हुने भएको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।
जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।

महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निमल्बनमा राखेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसददेखि सार्वजनि स्थलमा विरोध गर्दै आएको थियो । त्यस्तै, नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।