देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

देशान्तर

काठमाडौं – भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो ।

१६ वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका थिए । जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताएको पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

नेता निधि र राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएसका महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो ।

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसकेका छन्। इन्दिरा गान्धीको शासनकालमा भारतमा सङ्कटकाल जारी हुँदा उनि १६ महिना जेल बसेका थिए ।