परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा मंगलबार चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्।
अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। मन्त्री खड्काले बुधबार चीनको क्ङिदाओमा समकक्षी वाङसँग प्रतिनिधि मण्डलस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले भोजको आयोजना गर्ने कार्यक्रम छ। मन्त्री खड्काले राजधानी बेइजिङभन्दा बाहिर समकक्षीसँग भेटवार्ता गर्ने भएकाले विदेशमन्त्रीबाहेक अन्य उच्चअधिकारीसँग उनको भेट हुने सम्भावना कम छ।
अर्काेतर्फ भ्रमणमा कुनै महत्वपूर्ण कार्यक्रम वा सन्धिसम्झौता हुनेबारे पनि परराष्ट्रले कुनै जानकारी नगराएकाले मन्त्री खड्काको भ्रमण एक चीन नीतिप्रतिको प्रतिबद्धताका लागि भएको जानकारहरू बताउँछन्। नेपालले गत शुक्रबार ताइवानका सम्बन्धमा विकसित पछिल्लो घटना क्रमलाई नजिकबाट नियालिरहेको र नेपालले सदैव एक चीन नीतिको समर्थन गर्दै आएको जनाएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नियमित पत्रकार सम्मेलनमा दुवै मुलुकले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको बताउँदै एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वको पक्षमा रहेको बताएकी थिइन्।





प्रतिक्रिया