काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा.नारायण खड्काको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठ्नुपर्ने बताए ।
परराष्ट्र मन्त्री चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको उनले बताए ।
मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हो । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हो ।
खनालले परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए । उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, तिब्बत चीनकै भएको दाबी गरे । उनले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए । उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने पनि बताए । पूर्व प्रधानमन्त्री खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।
‘चीनका केही कोर इन्ट्रेस्टका कुराहरु छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेस्टलाई ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो फर्काइसक्यो । ताईवान त अभिन्न अंग नै थियो । त्यहाँ शासककाविरुद्ध क्रान्ति भएपछि भागेर त्यहाँ बसेका मात्रै हुन् । त्यसैले चीनले जुनसुकै बेलामा पनि त्यो क्षेत्र दाबी गर्ने कुरा आन्तरिक हो । तिब्बत पनि चीनको अभिन्न अंग हो । हाम्रो देशका सबै पार्टी र सरकार यी सबै ठाउँहरु चीनका अभिन्न अंग हुन् भन्नेमा छु उनले भने, ुनेपाल एक चीन नीति र नेपालको भूमि कुनै पनि मित्रराष्ट्र विरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केही पनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो ।’
पूर्व प्रधानमन्त्री खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्नको लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताए ।
प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिएको पनि बताए ।





प्रतिक्रिया