काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक एड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्च शिक्षा संचालनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन्।
उनले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने बताए । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।
पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच हालै भएको सम्झौता अनुरुप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । संघीयताको मर्म अनुसार प्रतिष्ठानको सेवाविस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीसहितको टोलीले सम्भावित स्थानको अवलोकन गरेका थिए ।
महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए । पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।





प्रतिक्रिया