देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलिदेखि निलम्बित प्रधानन्यायाधीश जबरामाथि अध्ययन सुरु

देशान्तर

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।

समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन् । यसकारण पहिलो बैठक शुक्रबार नै राखौं भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ,’ समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

बिजनेस पाएको पाँच दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो । पहिलो बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने र पारित गर्ने, संयोजक चयन गर्ने लगायतका कार्य प्राथमिकतामा पर्नेछ ।

साथसाथै शुक्रबारदेखि नै महाअभियोगमाथि समितिले आवश्यक अध्ययन सुरु गर्नेछ ।