काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित गरेर भदौ २ गतेदेखि सुरु गर्ने भनिएको अभियान आठ दिन पर सारेको छ । शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले भदौ २ देखि २४ सम्म गर्ने भनिएको अभियान भदौ १० देखि २४सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको सम्मुखमा ‘घरघर जाऔँ, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यस्तै कार्यक्रम सञ्चालन गर्न लागेको हो । बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।
त्यस्तै, बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको छ ।
निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरूलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । ‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ । त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क–कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको छ,’ उनले भने ।
मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् । बैठकले आगामी चुनावका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दल दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको छ ।





प्रतिक्रिया